काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतले आदेश दिएको छ । झाको मुद्दामा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए ।
झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो ।
उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।