काठमाडौँ – ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा भएको विवाद समाधान गर्न गठीत सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको बताइएको छ ।
आज ११ बजे पुनः वार्ता सुरु हुने आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । संयोजक तुम्याहाङले आफूहरूले तत्कालका लागि तीन कुरा राखिए पनि सरकारी पक्ष सहमत नभएको बताए । उनले भने, ‘हामीले एक नम्बरमा केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने, अर्को वार्ता समूहलाई स्थगन गर्ने, तेस्रो जति पक्राउ पर्नुभएको छ, उहाँहरू सबैलाई छाड्ने र बाँकी घाइतेहरूको उद्धार गर्ने भनेका हौँ । तर त्यो कुरामा उहाँहरू सहमत हुनुभएन ।’
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।
यस अघि पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ । अन्दोलनको क्रममा दर्जन बढि घाइते भएका छन् भने यातायात सेवा बन्द हुँदा स्थानीयको दैनिक कार्य असहज बन्दै गएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।