काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन तस्करी गरेको गम्भीर आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा २३ क्विन्टल सुन रातारात बाहिर पठाएर १ क्विन्टल समातिएको र त्यो पनि नापतौल गर्दा ६० किलो भएको उनले बताए।
उनले भने- हामीले कसैको कुर्सी हल्लाउन चाहेका थिएनौँ। देशप्रतिको जवाफदेहिता खोजेका थियौँ। ढिलै भए पनि एउटा सहमतिमा पुग्यौँ। आशाको त्यान्द्रो पलायो। खुसी प्रकट गर्न चाहन्छु।
तर भयो कस्तो भन्दा आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयौ... त्यस्तो भयो। किनभने यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो। तर एक क्विन्टल सुन समातियो र ६० किलो भयो नापतौल जोख्दा। यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला।
अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं र त्यसका तथ्यलाई हामी स्वीकार गर्दछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।