फाइल तस्बिर काठमाडौं- बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्नो पार्टीलाई संसद् चाहिने बताए। उनले २०१५ सालमा कम्युनिष्ट पार्टीबाट ४ जना सांसद रहेको र ०१७ सालमा महेन्द्रले संसद् विघटन गर्दा पनि आफूहरू विघटनको विरुद्धमा उभिएको बताए।
२०५५ सालमा मनमोहन अधिकारीले अस्पतालबाटै संसद् बैठकलाई सम्बोधन गरेको बताउँदै आफूहरूलाई संसद् चाहिने बताए। उनले विगत १ महिनामा निर्धारित १० वटा प्रतिनिधिसभा बैठकमध्ये ८ वटा सत्ता पक्षकै कारण अवरुद्ध भएको दाबी गरे। उनले भने, ‘यो संसद् सत्ता पक्षलाई चाहिन्छ चाहिँदैन मलाई थाहा छैन। तर यो संसद् नेकपा एमालेलाई चाहिन्छ भन्ने कुरा म राख्न चाहन्छु। म यो कुरा दृढताका साथ राख्न चाहन्छु।’
सांसद भट्टराईको उक्त सम्बोधनपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा विघटन कसका कारण भएको भनेर प्रश्न सोधेका छन्। भट्टराईलाई जवाफ दिँदै उनले भने, ‘२०१५ सालदेखि इतिहासका कुरा आए। कसका कारणले संसद् विघटन भयो? कसका कारणले पुनर्बहाली भयो? त्यतातिर म प्रवेश गर्न चाहन्न। नेपालको इतिहासमा २-२ चोटी संसद् विघटन हुँदा पनि सर्वोच्च अदालतबाट पुनर्बहाली भएको संसद्लाई जनताका जनप्रतिनिधिका आवाज राख्ने ठाउँका रुपमा विकशित गरेका थियौँ।’
उनले झण्डै २८० दिन संसद् विघटन एमालेका कारण भएको संकेत गर्दै उनले यसलाई इतिहासमै समीक्षा गर्नुपर्ने बताए। अबदेखि संसद्भित्रका छलफल संसद्भित्रै गरी बाहिरबाट निर्णय गर्ने प्रक्रिया अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।