काठमाडौं– केही दिनअघि सुनसरीको धरानमा सार्वजिनक रुपमा गोरु काटेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिएको विषय सदनमा उठेको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले यो विषय उठाउँदै सरकारको जवाफ माग गरेका छन्।
कांग्रेस सांसद भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका हुन्।
उनले सदियौंदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताए। आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको घटना निन्दनीय भएको उनको भनाइ छ।
उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको उनको दाबी छ।
उनले भने, ‘केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो। यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ। गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत् प्रचार गर्न खोजेको देखिन्छ। सबै समुदाय जिम्मेवार भएर आफ्नो आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको परम्परा छ। तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको घटना निन्दनीय छ। वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ।’
यस्तै राप्रपाका सांसद शाहीले पनि धरानमा भएको उक्त घटनाले सम्पूर्ण सनातनीमाथि चुनौती दिइएको बताए। गाईगोरु काटेर समाजिक सञ्जालमा राख्ने र सनातनीमाथि धज्जी उडाइँदा गृहमन्त्री रमिते बनेर बसेको आरोप लगाए। देशमा करोडौं मान्छेको आस्थामाथि खेलवाड गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।