काठमाडौं– सरकारमाथि प्रश्नहरू उठेर महिनौँ संसद् अवरुद्ध भइरहँदा राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९९ प्रतिशत सांसदले विश्वासको मत दिएको स्मरण गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा केसीले उक्त घटना स्मरण गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले गएको पुस २६ मा विश्वासको मत लिँदा असाधारण बहुमत प्राप्त गरेका थिए। उक्त दिन प्रधानमन्त्री परचण्डलाई संसद्मा उपस्थित २७० जनामध्ये २६८ जनाले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका केसीले मात्र विपक्षमा मतदान गरेका थिए।
उक्त दिन सम्झँदै केसीले बजेट पास गर्नेबला धन्नै सरकार ढलेको बताए। उनले प्रश्न गरे, ‘एकताका ९९ प्रतिशतले प्रधानमन्त्रीलाई समर्थन दिँदा तीन छक परेको थिएँ। बजेट पास गर्ने बेला त १० जनाले... धन्न धन्न सरकार गइसकेको थियो। के कारणले त्यत्रो लामो लस्कर लागेका रछौँ समर्थन गर्न?’
उनले मुलुक भयंकर अवस्थामा रहेको र नेपाली जनताले कष्ट भोगिरहेको बेलामा महिना दिनसम्म संसद बन्द हुनुको कारणबारे पनि जवाफ मागे। आज संसद् खोलेकोमा खोल्नेलाई बधाई दिइरहेकोमा उनले संसद् कसले बन्द गरेको छानबिन हुनुपर्ने धारणा राखे। उनले भने, ‘यो कसले बन्द गर्न लायो? किन बन्द भयो? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ।’
यसैगरी उनले भुटानी शरणार्थी, ललिता निवास र सुन काण्ड प्रकरणमा सांसदहरूकै सहभागिता नभएको कसको भनेर पनि प्रश्न गरे। उनले भने, ‘नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारीको केन्द् बनाउनेहरू यही हामी संसद्मा बस्नेहरू, खेल्नेहरू, सत्ता चलाउनेहरू संलग्न छैनौँ र? हामीले कसलाई भनिराख्या छौँ?’
बाढीपहिरो, महँगीलगायत जनताका आम विषय संसद्मा छलफल नभएको भन्दै उनले आपत्ति समेत जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।