काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ।
बुधबार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए।
‘साउदीमा नेपालीहरुको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र टेक्नोलोजी नेपालको भौतिक विकासमा आवश्यक छ,’ मन्त्री ज्वालाले भने, ‘साउदी अरबमा करिब ४ लाख नेपाली कामदारले श्रम गरिरहेका छन्। उनीहरुले पनि केही दक्षता पाएकै छन्। त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौं, त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ।’
साउदी सरकारले साउदी विकास कोषमार्फत् नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरेका छन्। ‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरउन्नति हुँदैछ, त्यसका लागि विकासलाई तीव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ,’ मन्त्री ज्वालाले भने।
साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताए। ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुर्यो,’ राजदूत हमिदले भने।
साउदी अरेबियाले वर्ल्ड एक्सपो २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ। साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन्। तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।