काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न बिचौलियाको सूचना आफूसँग आइपुगेको दाबी गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले उक्त सूचना आफूसँग रहेको र अनुसन्धान गर्ने निकायलाई उपलब्ध गराउनेसमेत बताएका छन्।
साउन २ गते पक्राउ परेको तस्करीको सुनबारे नेपाल सरकारका बहालवाला महानिर्देशकले नै अहिले सोही आरोपमा पक्राउ परेका दावा छिरिङ लामालाई दिएको दाबी गरेका छन्। सुन आएको तस्बिर नै महानिर्देशकले लामालाई पठाएको सूचना आफूसँग रहेको लामिछानेको भनाइ छ।
उनले भने, ‘साउन २ गते जुन सनु बरामद भयो। उक्त सुनको तस्बिर नेपाल सरकारकै बहालवाला महानिर्देशकले अहिले समातिएका दावालाईसमेत पठाएको सूचना प्रहरीबाट आएको छ। यसमा संलग्न बिचौलियाको जानकारी पनि मसँग छ।’
साथै उनले यसमा समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारको समेत संलग्नता रहेको आरोप लगाएका छन्। ‘सुन आएको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुको पनि संलग्नता छ। पूर्व प्रहरी अधिकारीसँग पनि दावाको कुरा भएको सूचना छ,’ उनले भने।
उनले पक्राउ परेका दावा लामो टेलिफोन रेकर्ड निकालेर छानबिन गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।