काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले छानबिन समितिको नाममा अनुसन्धान गर्ने राज्यका निकायको मनोबल कमजोर पार्ने काम गर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले विभिन्न प्रकरणमा सीआईबी लगायतका निकायले छानबिन गरिरहेकाले फेरि छानबिन समिति बनाएर उनीहरुको मनोबल गिराउने काम गर्न नहुने बताएका हुन्।
उनले भने, ‘विभिन्न प्रकरणहरु जुन देखा परेका छन्। तिनको अनुसन्धानका लागि आज छानबिन समिति बनाउने सहमति भएको छ। तर राज्यका निकायले पनि अनुसन्धान गरिरहेका छन्। ती कुनै दल विशेषका निकाय होइनन्। तिनको मनोबल गिर्नेगरी काम नगरौं। उनीहरुलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो।’
उनले शीर्ष नेताहरुको बैठक बसिरहँदा सरकारले अघि बढाएका प्रकरणहरु त्यसै ओझेलमा पर्ने त हैन भन्ने चिन्ता जनताबीचमा रहेको बताए। ‘आज शीर्ष नेताहरुको बैठक बसिरहँदाखेरि यी प्रकरणहरु ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता छ। कतै छानबिनको नाममा बीचैमा हराउने त होइन भन्ने जनताको चासो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।