काठमाडौं- राष्ट्रिय मान्यताप्राप्त सात दलबीच सिंहदरबारमा भएको सहमतिबमोजिम मंगलबारदेखि संसद् अवरोध हटेको छ। मंगलबार दिउँसो सुरु संसद् बैठकमा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराएका छन्।
उनले असोज ५ गते जाँचबुझ आयोग गठन हुने र सोही दिनदेखि आयोगले काम गर्ने जानकारी दिए। आयोगले हङकङबाट भित्रिएको ६० किलो सुनसहित नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता रहेको आरोप लागेको भेपमा सुन तस्करी प्रकरणबारे पनि अध्ययन गर्ने उनले बताए।
‘विदेशबाट इलेक्ट्रिक सिग्रेट (भेप)मा सुन राखी अवैध पैठारी तस्करी गरिएको, मिति २०८० साउन २ गते ब्रेक शुमा सुन राखी अवैध पैठारी गरिएको सुनलगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र, निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन गर्न र छानबिन अनुसन्धानसमेतको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ,’ उनले भने।
९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महराका बाबुछोराको संलग्नता रहेको आरोप लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।