काठमाडौं– सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठक सकिएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकअघि सभामुख घिमिरेले बैठक राखेका हुन्।
राष्ट्रिय मान्यताप्राप्त सात दलको सिंहदरबारमा बसेको बैठकले दुई बुँदे सहमति गरेसँगै बुधबारदेखि सदनको अवरोध हट्दैछ। प्रतिनिधि सभा बैठकमा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने छन्।
त्यस्तै, एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरूले बोल्ने सहमति पनि कार्यव्यवस्थामा भएको छ।
बैठकमा सभामुख घिमिरेले झण्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका थिए। ‘सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँछु,’ उनले भनेका थिए, ‘प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं।’
उनले संसदीय व्यवस्थामा दलहरु नै प्रमुख भएको भन्दै आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको बताए। ‘संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौं, म पनि गर्छु, माननीयहरुले पनि गर्नुपर्छ भन्ने मलाई लाग्दछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।