काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको हो। बसमा २३ जना यात्रु सवार रहेको विवरण प्राप्त भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिइन्।
‘दुर्घटनामा बसका चालक घाइते भएका छन्। चालकले बसमा २३ जना सवार रहेको भनेर बताएका छन्। ८ जनाको शव उद्धार गरेको भनेर प्रहरीले जानकारी दिएको छ,’ उपाध्यक्ष बिसुरालले नेपाल लाइभसँग भनिन्, ‘घाइते १५ जनाको उद्धार भएको छ। उनीहरुलाई उपचारका लागि लगिएको छ।’
घाइतेमध्ये १० जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। ५ जनालाई मलेखु तथा काठमाडौं पठाइएको छ।
बस बिहान ११:१५ बजेतिर त्रिशूली नदीमा खसेको थियो। दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।