काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) पनि बस्दैछ। बुधबार बिहान ८ बजेदेखि बैठक सुरु हुने नेताहरुले जानकारी दिएका छन्।
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक मंगलबारदेखि बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा सुरु भएको थियो। मंगलबारको बैठकमा विभिन्न प्रतिवेदन पेस भएका थिए।
प्रतिवेदनमाथि बुधबार पनि छलफल हुने जनाइएको छ। मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ। अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ।
उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे। बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा बुधबार धारणा राख्नेछन्।
पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ।
पार्टीका महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।