काठमाडौं– आज (बुधबार) संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दै छ। प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे र राष्ट्रिय सभा बैठक दिउँसो ३:१ बजे बस्ने गरी समय निर्धारण भएको छ।
तस्करीको ६० किलो सुन बरामद भएपछि नेकपा एमालेले संसद्का दुवै सदनमा पुर्याउँदै आएको अवरोध बुधबारदेखि हट्ने सम्भावना छ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुबीच सोमबार राति भएको सहमतिअनुसार संसद्को अवरोध हट्ने देखिएको हो।
यद्यपि संसद्को अवरोध हट्ने, नहट्ने विषय शीर्ष नेताहरुको बैठकले निर्धारण गर्ने भएको छ। यसअघि मंगलबार बस्ने तय भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक शीर्ष नेताहरुको ‘सहमति’का लागि बुधबारसम्मलाई सारिएको थियो। मंगलबार सूचना टाँस गरी बुधबारका लागि संसद्का दुवै सदनको बैठक सारिएको थियो।
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेर संघीय संसद्का दुवै सदनमा अवरोध पुर्याउँदै आएको थियो। एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा समिति गठन गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन्। सरकारले समिति गठन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु संसद्को अवरोध हटाउन तयार रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी थिए।
सोमबारको बैठकले उच्चस्तरीय समितिको मोडालिटी तयार गर्न प्रमुख ३ दलका नेता सम्मेलित कार्यदल समेत गठन गरेको थियो। कार्यदलमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।
कार्यदलको बैठक मंगलबार बसेको थियो। मंगलबारको बैठकले उच्चस्तरीय समितिको कार्यादेश र संरचना लगायत विषयमा प्रारम्भिक खाका तयार गरेको थियो। उक्त खाकामा शीर्ष नेता सहमत भए अन्तिम रुप दिइनेछ।
मंगलबार शीर्ष नेताको बैठक बस्ने भनिए पनि बस्न सकेन। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक बस्न नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।