काठमाडौं–नागरिक समाजले भ्रष्टाचारविरुद्धको अभियान पछिल्लो समय निष्कर्षमा पुग्नेमा आशंका उत्पन्न भएको भन्दै आक्रोश पोखेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रकरणको फाइल खुल्दै जाँदा सत्ता र शक्तिको दुरुपयोग गरी बचाउने कोशिस भइरहेका समाचार आइरहेकाले त्यस्तो हुन नदिन सकारलाई सचेत गराएको छ।
साथै समाजले भ्रष्टाचारले जर्जर बनेको नेपालमा सुरु भएको भ्रष्टाचार विरोधी कारबाही नेपालको इतिहासमै सम्भवत सबैभन्दा ठूलो कारबाही भइरहेको दाबी गर्दै समाजले राजनैतिक दबाबमा भ्रष्टाचार विरोधी अभियानले सफलतापूर्वक पूर्णता पाउनेमा आशंका गरेको छ।
विभिन्न राजनैतिक दबाबका कारण भ्रष्टाचार विरोधी अभियानले सफलतापूर्वक पूर्णता पाउला र अनुसन्धान गहिराइमा पुगेर सत्ता र पदको आडमा यसको संरक्षण गर्ने प्रमुख अपराधीहरूलाईसमेत कानुनी कठघरामा उभ्याइनेछ भन्ने कुरामा आशंका रहेको पनि समाजले जनाएको छ।
‘ललितानिवास काण्डमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वयलाई छानबिनको दायरामा ल्याउने आसयको आदेश दिएपछिको सत्ताकेन्द्रहरूमा देखिएको छटपटी र आवेगयुक्त अभिव्यक्तिहरू, सुन काण्डहरूमा आशंकाको घेरामा परेका शीर्ष नेताहरूले छानबिनमा सघाउने भनिरहँदा पनि तिनीहरूलाई सोधपुछ नगरिनु, नक्कली भुटानी सरणार्थीको मुद्दामा नक्कली भुटानी सरणार्थीको मुद्दामा पूर्व प्रधानमन्त्रीपत्नी आदिलाई सोधपुछ नहुनु तर महत्त्वपूर्ण भूमिका खेलेका एआइजीहरूलाई मन्त्रिमण्डलको निर्णयले सरुवा गर्नु र अन्य केही अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूकोसमेत फेरबदल हुनुले पनि उक्त सन्देह यथार्थ हो भन्ने अनुमानलाई बल पुर्याउँछ,’ विज्ञप्तिमा भनिएको छ।
गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरूद्धको कारबाही फितलो हुने आशंका जनमानसमा रहेकाले निष्पक्ष छानबिन हुनुपर्ने समाजले माग गरेको छ।
समाजले भ्रष्टाचारविरुद्धको लडाइँलाई निष्कर्षमा पुर्याउन नेपाली जनता अर्को जनआन्दोलनको सृष्टि गर्न बाध्य हुनु नपरोस् भन्ने चेतावनीसमेत दिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।