काठमाडौं– राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन्।
सुन तस्करीभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप? रहेको भन्दै उनले प्रश्नसमेत गरे।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त हुने तर्कसमेत गरे। संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ थियो।
सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।