काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन्।
मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए।
उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए। सरकारले तस्करहरुको संरक्षण गरिरहेको आरोपसमेत लगाए।
उनले भने, ‘एमाले संसद् सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ। हामीले यो माग उठाइरह्यौं। हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौं भनेर भनेको छ। आज तीन जनाको टिम बनाइएको थियो, त्यसपछि बैठक बोलाइएको थियो, हाम्रो अध्यक्ष ज्युको स्वास्थ्य समस्या पनि भयो, आज त्यो बैठकमा सहभागी हुने स्थिति भएन तर सरकारले चाहेको हुन्थ्यो भने नेकपा एमालेका अन्य नेताहरु सिंहदरबारमै हुनुहुन्थ्यो, सरकार पक्ष आजै तयार भएको हो भने राम्रो हुन्थ्यो। सरकार परिस्थिति बिगार्न लाग्दैछ। उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट नेकपा एमाले पछि हट्दैन। तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको विरोध कायम राखिरहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।