काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे उपस्थित थिए।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले साउन १८ गते नयाँ नेतृत्वको लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइका साउन २३ गते १० दिने उजुरी आह्वान गरेको थियो। सोमबार संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको थियो।
सोही दिन राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।
मंगलबार शपथ गराएसँगै श्रेष्ठ औपचारिक रुपमा सर्वोच्च अदालतको ३१औँ प्रधानन्यायाधीश बनेका छन्। उनी केही समयदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।