भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको बताएका छन्।
भरतपुर २२०/१३२ केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको छ। हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ।’
उनले बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावना रहेको बताए। तर आफूहरुको जोड बढीभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै रहेको उनको भनाइ थियो। उनले विद्युत् विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिइनुपर्ने बताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीव्रता आएको उनले बताए।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो।
सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कुल लागत एक अर्ब ५२ करोड छ। हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत्् प्रवाह गर्न सक्ने क्षमता छ।
हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत्् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत्् प्रवाहका लागि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।