काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले न्यूनतम् संस्कार पनि कायम नराखेको गुनासो गरेका छन्। मंगलबार पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकमा उनले बिहान राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफू पनि गएकाले एमालेका नेताहरू त्यहाँ नआएको हुनसक्ने गुनासो गरे।
‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएको थियो। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ। थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरू आएनन्,’ उनले भने, ‘सम्भवत: त्यहाँ माधव नेपालको छाया, एकीकृत समाजवादीको छाया परेर होला, आउने काम भएन।’
तर उनले आफूहरू सबैसँग साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहेको बताए। उनले भने, ‘हामीमा त्यस्तो संकीर्णता छैन। हामीमा त्यस्तो सानो किसिमको चित्त पनि छैन। हामी सबैसँग साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ।’
एमालेले न्यूनतम् संस्कार कायम नराखेको संकेत गर्दै अगाडि उनले भने, ‘राष्ट्रको, जनताको, समाजका सरोकारका विषयमा विचार मिल्नेहरूसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ। न्यूनतम् संस्कार हामी कायम राख्छौँ। अरुको मानमर्दन गर्दैनौँ। अरुको अपमान गर्दैनौँ। हामी अरुलाई धारेहात लगाएर चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ।’
यसैगरी उनले एमालेसँग गरेको विद्रोह एकदमै जायज भएको बताए। तल्लो तहका नेताहरूले के भन्छन् भन्दा पनि केन्द्रीय कमिटीका सदस्यले त्यो विद्रोह गर्ने अवस्था कसरी आयो भुल्न नहुने उनको भनाइ थियो। ‘सबभन्दा पहिले हामी केन्द्रीय किमिटीका सदस्य, नेतृतवदायी तहका नेताहरू त्यबसबारेमा प्रष्ट छौँ कि छैनौँ। जिल्ला कमिटीकाले के भन्छन्? प्रदेश कमिटीकाले के भन्छन्? जनवर्गीय संगठनकाले के भन्छन्। तल तलकाले के भनेछन् त्यो महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘हाम्रो दिमागमा के छ? हामी त्यसमा विश्वस्त छौँ कि छैनौँ सबैभन्दा महत्वपूर्ण कुरा यहाँ छ। हामी विश्वस्त छौँ भने अरुलाई विश्वस्त बनाउन सक्छौँ।’
नेतृत्व तहका नेताहरू प्रष्ट भएर तल्लो तहका नेताहरू अगाडि प्रमाण, घटना र विवरण पेस गर्न सक्नुपर्ने भनाइ उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।