काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मध्यम वर्गीय भुइँफुट्टाहरूको आवेगले मुलुकको युवा जनमतलाई प्रभावित पारेको बताएका छन्। केन्द्रीय समितिको मंगलबारदेखि सुरु छैटौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले गत निर्वाचनबाट उदाएका कतिपय राजनीतिक शक्तिप्रति संकेत गर्दै कटाक्ष गरेका हुन्।
'राजनीतिलाई इतिहास र सिद्धान्तभन्दा अलग केवल क्षणिक लोकरञ्जन (पपुलिजम) का रुपमा बुझ्ने केही मध्यम वर्गीय भुइँफुट्टाहरूको आवेगले मुलुकको युवा जनमतलाई प्रभावित पारेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सस्तो निन्दा-भर्त्सनाको असहिष्णु प्रतिक्रियाले सामाजिक संवादको रुप लिँदैछ।’
उनले सो विषयको अर्को पाटो पनि रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘नयाँ भविष्यको स्पष्ट मार्गचित्रका साथ एउटा संगठित शक्ति अगाडि आउँदा त्यही तीव्रताका साथ समाजमा क्रान्तिकारी तथा प्रगतिशील ध्रुवीकरणको सम्भावना पनि उत्तिकै छ। हाम्रो पार्टी नै त्यो शक्ति बन्नु पर्दछ,’ प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा आम निर्वाचन २०७९ पश्चात् गठित संघीय संसद्को प्रतिनिधि सभा र प्रदेश सभा त्रिशंकु बनेको र त्यसै कारण संघ र प्रदेशमा गठबन्धन सरकार बनेको उल्लेख छ। प्रतिनिधि सभा त त्रिशंकु मात्रै होइन, खिचडी प्रकृतिको समेत रहेको उल्लेख गरिएको छ।
‘त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र यथास्थितिवादी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापक्षेतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरु उपस्थित छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ। यसरी चलिरहने द्वन्द्वले गर्दा मुलुकमा अस्थिरताका बादल घुमिरहन सक्ने अवस्था छ। अहिले प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद् अवरोध गर्ने गरेबाट त्यस्तै संकेत पाइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।