काठमाडौं– मंगलबार दिउँसो १:१ बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ। संघीय संसद् सचिवालयले राष्ट्रिय सभाको बैठक दिउँसो ३:१४ बजेका लागि सारिएको जनाएको छ।
संसद् सचिवालयले सूचना जारी गर्दै १:१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस ३:१४ मा बस्ने गरी सारिएको जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गते यता संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।
पछिल्लो समय दलहरुले संसद् सुचारु गर्ने विषयमा सहमति नजिक पुगेको बताउँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वान सोमबार राति बसेको ‘राष्ट्रिय दल’हरुको बैठकमा संसद् सुचारु गर्ने सहमति जुटेको बताइएको छ।
साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको थियो। एमालेको माग समेत सम्बोधन हुने गरी तस्करी प्रकरणको छानबिनका लागि सरकार उच्चस्तरीय समिति गठन गर्न सहमत भएको छ। उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे भने मंगलबार सहमति जुट्ने बताइएको छ।
मंगलबार प्रतिनिधि सभा बैठक समेत बस्दै। प्रतिनिधि सभा बैठक मंगलबार ३ बजे बस्ने गरी समय निर्धारण भएको छ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आजै ३ः१४ मा बस्ने गरि समय निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।