काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र वर्तमान राजनीतिक प्रणालीमाथि नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको पनि बताएका छन्।
मंगलबार शीतलनिवासमा सर्वदलीय बैठक बोलाएका राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको विषयमा दलहरुको ध्यानाकर्षण गराए।
उनले सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न नसकेको उल्लेख गर्दै अहिलेको अवस्थामा यो विषय टुङ्ग्याउन नसकिए जनताले खोजेको शान्तिको चाहना पुरा हुन नसक्ने बताए।
राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमै पास गर्न समेत दलहरुको ध्यानाकर्षण गराए। देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा उक्त ऐन समयमा पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर ति कानुन बनाउन राष्ट्रपतिले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।