काठमाडौं– हङकङबाट भित्रिएको अवैध ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार भएको छ। सिंहदरबारमा सोमबार मध्यरातिसम्म बसेको सर्वदलीय बैठकमा समिति बनाउने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
समिति बनाउनका लागि केही गृहकार्य गर्नुपर्ने भएकाले ३ सदस्यीय समिति पनि गठन भएको उनले बताए। उनकाअनुसार समितिमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र नेकपा माओवादी केन्द्र हितराज पाण्डे रहेका छन्। उक्त समितिले मंगलबार बिहान ११ बजेसम्म समिति गठनका लागि ड्राफ्ट तयार गर्ने र दिउँसो २ बजे पुन: बैठक डाकिएको गिरीले जानकारी दिए।
सञ्चारकर्मीसँगको कुराकानीमा गत साउन १० गतेदेखि रहेको संसदको अवरोध हट्ने पनि उनले बताए। ‘तस्करीका विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनेर आज पनि हामीले हाम्रो मत राख्यौँ। सरकारले मोटामोटी सहमति जनाएको छ,’ उनले भने, ’भोलि २ बजे अर्को बैठक बोलाइएको छ। भोलिसम्ममा यो सहमति हुन्छ।’
भोलि संसद् खुल्छ भन्ने प्रश्रमा अगाडि उनले भने, ‘भोलिसम्ममा उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सरकार प्रतिबद्ध रहेमा नखुल्ने भन्ने छैन।’
यसअघि आइतबार बसेको बैठकमा सहमति हुन नसकेपछि सोमबार पुन: बैठक बस्नेगरी सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।