काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बसेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समिति बैठकका अजेन्डाहरु पारित गरेको छ।
अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गर्न उपाध्यक्ष प्राडा विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेसमेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
यसैगरी बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला,आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेका थिए। प्रवक्ता बसन्तमानसिंह अधिकारीका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप अजेन्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ।
बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।