काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका डा शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलंका, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेका छन्।
डब्लूएचओका ३ वटा महत्त्वपूर्ण कार्यक्रममा भाग लिन लिन भारतको गुजरात गएका मन्त्री बस्नेतले त्यहाँ बस्दा नेपाल सरकारले डब्लूएचओ ‘सेरो’को क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका जनस्वास्थ्य विज्ञ डा आचार्यको पक्षमा मत दिन आग्रह गरेका हुन्।
एक साता लामो भारत भ्रमण सकेर सोमबार स्वदेश फर्केका स्वास्थ्यमन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफूले नेपाल सरकारको तर्फबाट डा आचार्यको पक्षमा मत मागेको बताए।
मन्त्री बस्नेतले भने, ‘डा आचार्यको उम्मेदवारी हामी सबै नेपालीका लागि प्रतिष्ठाको विषय हो। मैलै भारतमा बस्दा डब्लूएचओ ‘सेरो’ देशहरुका स्वास्थ्य मन्त्रीहरुलाई भेटेर नेपालको उम्मेदवारीको विषयमा कुराकानी गरेर मत मागेको छु। सबै पक्षबाट सकारात्मक प्रतिक्रिया पाएको छु।’
लामो समय विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेर निर्देशकको रुपमा काम गरिसकेका डा आचार्य आउँदो महिना हुने डब्लूएचओ ‘सेरो’को क्षेत्रीय निर्देशक निर्वाचित भए नेपालको स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने बताउँदै मन्त्री बस्नेतले यस विषयमा नेपाल सरकारले अझै प्रयास जारी राख्नेमा जोड दिए।
डब्लूएचओ ‘सेरो’मा दक्षिण पूर्वी एशिया क्षेत्रमा ११ वटा देश पर्छन्। क्षेत्रीय निर्देशकमा विजयी हुनका लागि ६ मत आवश्यक पर्छ। डब्लूएचओ ‘सेरो’का सदस्य देशहरुमा नेपालसहित भारत, बंगालादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, टिमोर लेस्टे, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार र दक्षिण कोरिया सदस्य छन्।
डा आचार्यसागै बंगालादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदकी पुत्री सैमा वाजेद पनि उम्मेदवार छन्। दुई कार्यकाल भारतकी डा पुनम क्षेत्रपालले क्षेत्रीय निर्देशक भएर काम गरिन्। उनको कार्यकाल आउँदो महिना सकिन लागेको छ। डब्लूएचओ ‘सेरो’को क्षेत्रीय निर्देशकको चयन आउदो अक्टुबरको अन्तिम हप्ता हुने छ।
मन्त्री बस्नेतले भारतमा रहदा डब्लूएचओ ‘सेरो’ देशहरुको स्वास्थ्य मन्त्रीहरुको बैठकमा सहभागी भएर क्षयरोग अन्त्यको लागि नेपालको तर्फबाट मन्तव्य राख्दै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएका थिए। त्यसैगरी मन्त्री बस्नेतले डब्लुएचओको प्राकृतिक चिकित्सा सम्बन्धी ग्लोबल समिटमा भाग दिएर त्यसको प्लेनरी सेसनमा नेपालको तर्फबाट सम्बोधन गरेका थिए।
यसका साथै स्वास्थ्य मन्त्री बस्नेतले वान हेल्थ, वान अर्थ नामक फर्मा एक्स्पोको अवलोकनसमेत गरेका थिए। आफूले गुजरातमा बस्दा भारतका समकक्षी डा मनसुख मांडविया र त्यहाँका स्वास्थ्य सचिवसँग दुई पक्षीय वार्ता गरेर नेपालको स्वास्थ्य क्षेत्र सुधारका पक्षमा सहयोग मागेको मन्त्री बस्नेतले जानकारी दिए। जिपी कोइराला स्वासप्रस्वास केन्द्रको संरचना र सेवा विस्तार, वीरगन्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापहरुबाट अध्यापन गराउन र आयुर्वेद चिकित्साको क्षेत्रमा नयाँ प्रविधिको बारेमा सहकार्यका बारेमा सहयोग मागेको उनले जानकारी दिए।
यसका साथै भारतको आयूष मन्त्रालयका राज्यमन्त्री र अधिकारीहरुसँग आयुर्वेद क्षेत्रको विकासका लागि छलफल भएको र भारत सरकारले सहयोगको आश्वासन दिएको मन्त्री बस्नेतले बताए। मन्त्री बस्नेतसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्र, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्य, आयुर्वेद विभागका महानिर्देशक डा वाशुदेश उपाध्यायसहितको टोलीको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।