धनगढी– सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको कानुन संशोधन मस्यौदा समिति गठन गरिएको छ। प्रदेशसभा नियमावली २०७४ लाई संशोधन गर्न मस्यौदा समिति गठन गरिएको हो।
सोमबार बसेको प्रदेश सभा बैठकमा सात सदस्यीय मस्यौदा समिति गठन गर्न नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य मानबहादुर धामीले प्रस्ताव पेस गरेका थिए।
प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य धामीले प्रदेश सभा नियमावली २०७४ को नियम १, १३, ९९, १०४, १४६, १४८, १५१ संशोधन गर्नुपर्ने भएको हुँदा नियम २२३ बमोजिम प्रस्ताव पेस गरेको बताए।
सो प्रस्तावमाथि नेपाली कांग्रेसकी प्रदेश सभा सदस्यीय गीता चौधरीले समर्थन जनाएकी थिइन्। सभामुख भीमबहादुर भण्डारीले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन्।
सो मस्यौदा समितिमा प्रदेश सभा सदस्य विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुशीराम डंगौरा थारु, प्रकाश रावल, खेमादेवी बिष्ट, तारा जोशी रहेका छन्।
यहाँका सत्ता साझेदार दल तथा प्रतिपक्षी दलबीच संसदीय समितिको जिम्मेवारी बाँडफाँटको लागि सो नियमावली संशोधन गर्न लागिएको हो। नियमावली संशोधनपछि यहाँ २ वटा समिति थप गरी ६ वटा संसदीय पुर्याइन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।