काठमाडौं- मुख्यमन्त्री उद्धव थापाले सभामुखको सिटमा आसिन कांग्रेस सांसद इस्राइल मन्सुरीले मतदान गरेर उनको मौलिक हकको उपयोग गरेको प्रतिक्रिया दिएका छन्।
संविधानले प्रदान गरेको मतदानको अधिकारलाई प्रयोग गरिएकाले अवैधानिक नहुने मुख्यमन्त्री थापाले दाबी गरे। उनले भने, ‘उहाँ सभामुख होइन, ९३ भित्रको सदस्य हो। पहिलो अधिकारको कुरा हुन्छ। मतदानको अधिकार पहिलो अधिकार हो। मतदानको अधिकार कुन्ठित गर्नुहुँदैन। अवैधानिक भएन। उहाँको मतदानको अधिकार रोक्ने अधिकार संविधानलाई पनि छैन।’
आफूहरुले सोमबार विश्वासको मत लिएर प्रदेश सभाको औचित्य पुष्टि गरेको बताए। उनले थपे, ‘यो परिस्थितिको निर्माण गर्ने काम सभामुखबाट भएको छ। आजको समय दिने अनि प्रदेश सभा सदस्य सभामुख तोकेर हिँड्ने? आफ्ना दलका ज्येष्ठ सदस्यालाई छुट्टी दिने?’
मन्सुरी सभामुख नभएको उनको भनाइ छ। ज्येष्ठ नागरिकका रुपमा जबर्जस्ती सभामुख बनाइएको उनको दाबी छ। उनले भने, ‘म प्रतिप्रश्न गर्छु- उहाँ सभामुख हो? अघिल्लोपटक गल्ती गरेका थियौं, मानेका छौं। योपटक कसरी गल्ती हाम्रो हुन्छ?’
प्रतिपक्ष दल नेकपा एमालेले कानुनी लडाइँ लड्ने बताएको छ। थापाले प्रतिपक्ष सर्वोच्च अदालतमा जाने भएकाले त्यहीँ बाँकी व्याख्या हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।