काठमाडौं– कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पुर्याउनका लागि अवैधानिक वाटो अपनाएको ठहर गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले कानुनी र संसदीय दुवै लडाइँ लड्ने चेतावनी दिएको छ।
कोशी प्रदेशमा सोमबार बहुमत पुर्याउन ज्येष्ठ सदस्य इस्राईल मन्सुरीलाई मतदान गराएपछि एमाले दुवै मोर्चामा लड्ने चेतावनी दिएको हो। थापाले ज्येष्ठ सदस्यको मतसहित ४७ मत प्राप्त गरेका थिए भने विपक्षमा ३० मत परेको थियो।
विश्वासको मत लिने भएपछि एमालेले आफ्ना सात सांसदलाई बिदामा राखेको थियो। त्यस्तै राप्रपाले पनि दुई सदस्यलाई बिदामा राखेको थियो। त्यस्तै उपसभामुख पनि बैठककै दिन उपचारका लागि भन्दै काठमाडौं हिँडेकी थिइन्।
सत्ता पक्षमा ४६ भन्दा बढी नपुगोस् भन्दै प्रतिपक्षले उक्त रणनीति अपनाएको थियो। तर सत्ता पक्षले पनि बलजफ्ती रुपमा ज्येष्ठ सदस्यलाई मतदान गराएर बहुमत पुर्याएको छ।
तत्कालका लागि मुख्यमन्त्री थापाले सरकार जोगाए पनि अब यो विवाद पुन: अदालत आउने देखिन्छ। यसअघि साउन ११ गते पनि सर्वोच्चले थापालाई हटाएको थियो भने यो पटक पनि सोही माग गर्दै एमालेले सर्वोच्चमा रिट दायर गर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।