काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले उपसभामुखको बचाउ गरेको छ। एमालेले विश्वासको मत मुख्यमन्त्रीलाई आवश्यकता नै नदेखिएको दाबी गरेको छ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत दिन नसक्ने र प्रतिपक्षमा भोट हाल्ने बताए। उनले विश्वासको मत पुर्याउने नाममा असंवैधानिक गतिविधि भएमा सामान्य ढंगले नलिने चेतावनी दिए। उनले यो आफूले ध्यानाकर्षण गराएको दाबी पनि गरे।
विश्वासको मत लिने बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछि सत्ता पक्षले आलोचना गरेको थियो। उपसभामुख आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौ हिँडेकी थिइन्। उनको अनुपस्थितिमा सत्ता पक्षकै जेष्ठ सदस्यले प्रदेश सभा सञ्चालन गरेपछि सत्ता पक्षले उपसभामुखको आलोचना गरेको हो।
विश्वासको मत दिने विषयमा बोल्न रोष्टममा पुगेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिरामी बनाएर भनी गरेको टिप्पणीमा आपत्ति प्रकट पनि गरे। उनले आफूहरुले बिरामी बनाउने नभई उपचार पनि नगर्ने भएकाले यस्तो टिप्पणी नर्गन आग्रह गरे।
‘सभाध्यक्षको भूमिकामा रहन भूमिका निभाउनु भएकाले निष्पक्ष र संविधान अनुसार पालना गराउनुहुनेछ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘आज ऐतिहासिक दिन हो भनेर भनेको सुनेँ। विगतमा हिक्मत कार्की मुख्यमन्त्री हुनुभयो। विश्वासको मत प्राप्त गर्नु भयो। अनि फेरी विश्वासको मत माग्नु भयो प्राप्त भएन त्यो समय ऐतिहासिक भएन अनि आज कसरी ऐतिहासिक भयो?’
विश्वासको मत लिने बैठकमा उपसभामुखको चर्चा धेरै भएको भन्दै भण्डारीले उपसभामुखले आफ्नो कर्तव्य निर्वाह गरेको दाबी गरे। ‘उहाँले आफ्नो कर्तव्य निर्वाह गर्नुभयो । मैले प्रदेश सभाको मिति नै तोक्दिनँ भन्नु भएन। बिरामी भएर मोबाइल अफ गरेर सुत्नु भएन,’ उनले भने, ‘अध्यक्ष मण्डलले अध्यक्षता गर्न सक्ने गरी सभामुखले प्रयोग गर्न पाउने अधिकारको मार्ग प्रशस्त गरेर नै काठमाडौं पुगेर अस्पताल भर्ना हुनु भएको छ। उपसभामुखको स्वास्थ्यमाथि गलत टिप्पणी भयो। स्वास्थ्यमाथि संवेदनशील टिप्पणी किन भयो?’
उनले यसरी सभामा गलत टिप्पणी गर्न नमिल्ने भन्दै आपत्ति जनाए। ‘अस्पताल भर्ना भएकी उपसभामुखको बारेमा किन नाटक मञ्चन भयो? यो आज भयो कि हिजो भयो स्मरण गरौं,’ उनले भने, ‘सभामुख हुँदा हुँदै तपाईं प्रदेश सभा सदस्य भनी हस्ताक्षर गर्ने नाटक भएकै हो। यो कुरा सर्वोच्चको फैसलाले गलत भनेर टिप्पणी गरेको हो।’
उनले काम चलाउ सरकारको प्रमुख हिक्मत कार्की हुनुपर्नेमा किन दिइएन भन्दै मुख्यमन्त्रीको कार्यालयमा ताला लगाएर सरकारविहीनता किन बनाइयो? भनी प्रश्न गरे। संविधानको मूल्य मान्यतालाई कुल्चिने कुरा बिर्सेर नैतिकताको कुरा गर्न नमिल्ने उनको भनाइ थियो।
‘अहिलेका मुख्यमन्त्री कुन मुख्यमन्त्रीको उत्तराधिकारी हो,’ उनले भने, ‘शपथ ग्रहणमा निर्वतमान मुख्यमन्त्रीका लागि कुर्सी पनि राखिएन। अनि अहिले दलीय सहमतिको कुरा कसरी गर्नुहुन्छ?’ उनले यो सामान्य घटना नभएको बताए। नियमावलीको नियम अध्ययन गर्नुपर्ने र सभामुख वा उपसभामुख नभए मात्र जेष्ठ सदस्यले सदन चलाउन सक्ने भन्दै बिदामा बस्दा किन अनुचित टिप्पणी गरियो भनी उनले प्रश्न गरे।
सत्ता गठबन्धनले एकपछि अर्को अनैतिक कार्य गर्दै आएको उनको दाबी छ। उनले सभामुखको व्याख्या सर्वोच्चले गरेको भन्दै अब संविधानको हुर्मत लिन नमिल्ने दाबी गरे। उनले अब पनि हुर्मत लिने हो भने प्रदेशमाथिको आलोचना उत्कर्षमा पुर्याउने जिम्मेवारी लिनुपर्ने बताए। आफ्नो स्वार्थपूर्तिका लागि व्याख्या नगर्न उनले चेतावनीसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।