काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको पूर्वमन्त्री चन्द्रदेव जोशीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान नलिई फिर्ता पठाएको छ।
पक्राउ पुर्जी समेत जारी भएका जोशी सोमबार बयानका लागि भन्दै सीआईबीमा पुगेका थिए। तर सीआईबीले आफ्नो बयान नलिई फर्काएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत यसबारे जोशीले जानकारी समेत गराएका छन्। ‘पहिलो पटक सीआईबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनुभयो। तर फेरि अहिले नआउनु भन्ने खबर आयो। आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो। भ्रष्टाचार विरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ। म फरार छुँइन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा ४०६ भन्दा बढी पक्राउ पुर्जी जारी भएको छ। यो प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराई र माधवकुमार नेपालसँग आइतबार राति बयान समेत लिइसकेको छ। अब सीआईबीले अनुसन्धान सकेर फाइल बुझाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।