काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई संसदीय सुनुवाइ समितिमा अहिले सांसदहरूले प्रश्न सोधिरहेका छन्। श्रेष्ठले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेपछि कार्ययोजनामाथि सांसदहरूले सवाल गरेका हुन्।
सोमबार संसदीय समितिमा सांसद रमेशजंग रायमाझीले अदालतको विचौलिया पहिचान भभएको बताइने तर पक्राउ किन नगरिएको भनेर श्रेष्ठलाई सोधे। न्यायाधीशको ढोकामा अझै विचौलिया किन बस्छ भनेर उनले सोधे। उनले भने, ‘अदालतको विचौलिया को हो? पहिचान भएको छ भनिन्छ, अझैं किन न्यायाधीशको ढोकामा बस्छ? प्रहरी प्रशासन लगाएर किन पक्राउ गरिदैन?’ १३ महिनाभित्र अरु अस्थायी न्यायाधीश नियुक्त गरेर मुद्दा फर्चौट हुन्छ कि हुँदैन भनेर पनि उनले सोधेका छन्।
यस्तै उनले रेशम चौधरीको मुद्दाबारे पनि चासो व्यक्त गरेका छन्। चौधरीलाई सरकारले दिएको आममाफी बदर हुने/नहुनेबारे सवाल उनले गरे। उनले भने, ‘रेशम चौधरीको मुद्दामा अदालतले अपराधी हो भनेर भनिसकेपछि निजलाई थुन्छ कि थुन्दैन?कानुनले के भन्छ?’
सांसद डीपी अर्यालले क्यापिटल मर्चेन्ट फाइनान्स र राजन विष्टको नाम किटेरै आएकाले त्यसबारे प्रस्ट्याउन आग्रह गरे। उनले भने, ‘यो देशमा भएको भ्रष्टाचार अनियमितता न्यायालयबाटै सुधार गर्नुपर्ने जनताको माग छ। क्यापिटल मर्चेन्ट फाइनान्स र राजन विष्टको नाम किटेरै आएको छ। स्पष्ट पारिदिनुहोला। चेन अफ कमान्डको अध्ययन कसरी गर्नुहुन्छ?’
उनले अदालतले पेसी सार्दै जाने विषयबारे पनि चासो व्यक्त गरेका थिए।
यस्तै सांसद देवेन्द्र दाहालले सर्वोच्चसहित अन्य सबै अदालतमा फर्च्यौट हुन बाँकी पुराना मुद्दाबारे श्रेष्ठको योजनाबारे सोधे। उनले राज्य संस्थामा पहुँचमा भएकाहरूले प्रहरी प्रयोग गरी गर्ने दुरुपयोग रोक्ने योजनाबारे पनि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको जवाफ खोजेका थिए।
यस्तै अर्का सांसद महेश कुमार बर्तौलाले श्रेष्ठको कार्ययोजना दलको घोषणापत्र जस्तो भएको आरोप लगाए। सर्वोच्चमा न्यायाधीशको अभाव र न्यायलयप्रति आम नागरिकको भरोसा मरेको बेला कार्ययोजना १३ महिनाभित्र पूरा गर्ने आधारबारे चासो व्यक्त गरे। उनले न्याय खरिद-बिक्री हुनेबारे पनि चासो राखे। उनले भने, ‘अदालतप्रति नागरिकको भरोसा टुट्न लाग्यो। न्याय खरिद-बिक्री हुन्छ भन्ने कुरा नागरिकमा परेको छ। यसलाई कसरी लिनुहुन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।