धनगढी- सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति थप गर्न दोस्रो पटक प्रदेश सभा नियमावली संशोधन गर्न लागिएको छ। सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा नियमावली दोस्रो पटक संशोधन गर्दै संसदीय समिति थप गर्न प्रस्ताव पेस हुने भएको हो।
नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले मानबहादुर धामी प्रस्तावक र गीता चौधरी समर्थकमा सो ऐन संशोधनका लागि सभामा दर्ता भएको जनाइएको छ।
‘सात सदस्यीय नियमावली संशोधन समिति गठन गर्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ,’ प्रदेश सभाका सूचना अधिकारी युवराज जोशीले भने, ‘यसबाहेक अन्य कुनै ऐन सभामा दर्ता भएको छैन। सोमबार आह्वान गरिएको बैठकको एजेण्डा यही हुनेछ।’
यसअघि २०७६ साल वैशाख ११ गते सो नियमावली संशोधन गरिएको थियो। झण्डै चार महिनापछि बस्न लागेको प्रदेश सभा बैठकमा नियमावली संशोधनबाहेक अन्य ‘बिजनेस’ नरहेको जनाइएको छ।
सरकारले प्रदेश सभा बैठक बसाउन नसक्दा प्रदेश सभा सदस्यहरु सार्वजनिक कार्यक्रम, भेटघाट लगायतमा बैठक बोलाउनुपर्ने माग गरिरहेका थिए। प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएपछि बस्न सकेको थिएन।
सरकारले बिजनेस नदिँदा सभामुख भीमबहादुर भण्डारीले असार ३० गते बसेको २१औं बैठकमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।