पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई (फाइल तस्बिर) काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा जानकारी गराउन भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन्।
उनले आफैं सीआईबी पुगेर घटनाबारे सत्यतथ्य जानकारी दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका, सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।’
भट्टराई प्रधानमन्त्री भएको बेलामा पनि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर हत्याउने काम भएको थियो। सर्वोच्च अदालतले समेत नीतिगत निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न भनेपछि भट्टराईसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।