काठमाडौं– ४ दल सम्मिलित समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सभा गर्ने भएको छ। सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले ७ वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।
बैठकले मधेस प्रदेशबाट सभाहरुको सुरुवा गर्ने निर्णय गरेको छ। भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा सभा गरिनेछ।
यस्तै, भदौ १२ गते लुम्बिनी प्रदेशको बुटवल, १३ गते सुदूरपश्चिम प्रदेशको धनगढी, १४ गते कर्णाली प्रदेशको सुर्खेत र १५ गते गण्डकी प्रदेशको पोखरामा सभा गर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
मोर्चाले भदौ २३ गते बागमती प्रदेशको हेटौँडा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ। बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।
मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो। मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।