काठमाडौं– नेविसंघमा मनोमानी ढंगले केन्द्रीय सदस्य मनोनित गरेको भन्दै अनसनमा बसेको नेविसंघको असन्तुष्ट पक्षसँग चार बुँदे सहमति भएको छ।
आइतबार नेविसंघका पूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाको रोहवरमा अनसनरत पक्षसँग चार बुँदे सहमति भएको हो।
नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्नका लागि संगठनको जिम्मेवारीबाट बाहिर रहेका नेविसंघका नेताहरुको उचित व्यवस्थापनसहित समावेशी तरिकाले नेविसंघ केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने सहमति भएको छ।
यस्तै तदर्थ समितिको पहिलो केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्ने, संगठनभित्र हिमाल, पहाड, तराई, मधेश, महिला, जनजाती, दलित, मुस्लिम, थारु, अल्पसंख्यक, पीछडिएको क्षेत्र सबैलाई समेट्ने सहमति पनि भएको छ।
उक्त सहमति अनुसार आइतबारदेखि नै पार्टी केन्द्रीय कार्यालयमा राखिएको रिले अनसन स्थगित गर्ने सहमति पनि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।