काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नुपरेका कारण छट्पटाएको टिप्पणी गरेका छन्। पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए।
एमालेले जे सुकै विषयमा अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसद्लाई बन्दी बनाउनुको कारण सोही छट्पटीको अभिव्यक्ति भएको उनको भनाइ थियो। आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए।
‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ’, उनले भने, ‘तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छट्पटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’
पुनले निःशर्त संसद्को अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे। सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेको भन्दै उनले उसले प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे। तर, वर्षौंदेखि काम गर्दै आएका राज्यका स्थापित संरचना र विधिलाई कामजोर बनाउने गरी समिति गठनको माग राख्नु अनुचित भएको उनको भनाइ थियो।
एमालेको जनमत घटेको मौकालाई आफूहरुले संगठन सुदृढीकरणको मौकाका रुपमा उपयोग गर्नुपर्ने पुनले बताए। सरकारले गरेका राम्रा काम लिएर आफूहरु जनतामा जान र त्यसलाई संगठित शक्तिमा बदल्न केन्द्रीय समिति बैठकले तीन महिने अभियानको कार्यक्रम ल्याएको उनले बताए। सरकारको कामका कारण जनताले फेरि एकपटक माओवादीतर्फ विश्वासको नजरले हेरेको दाबी गर्दै उनले त्यसलाई संगठानात्मक शक्तिमा बदल्न पार्टी पंक्तिलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।