काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको जानकारी दिए।
उनले सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद् अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने उल्लेख गरे। सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने उनको भनाइ छ।
बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताए।
उनले भने, ‘सदन सुचारु गर्ने बारेमा छलफल भयो। सकारात्मक छलफल भएको छ। भोलि एकपटक पुनः बैठक बसेर पर्सी तीन बजेसम्म रोक्ने र त्यसपछि संसद् अघि बढाउने सहमति छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।