काठमाडौं– रुसको अन्तरिक्ष यान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ। भारतले चन्द्रयान–३ मिसन लञ्च गरेको केही दिनपछि यो अभियान सुरु गरेको थियो।
यो मानवरहिहत यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ गर्नुपर्ने थियो। तर त्यसअघि नै प्राविधिक गडबढी र सम्पर्क टुटेको जानकारी आएको थियो।
रुसको सरकारी एजेन्सी रोसकोसमोसले शनिबार दिउँसो २ बजेर ५७ मिनेटपछि लुना–२५ सँग सम्पर्क टुटेको आइतबार बताएको थियो।
बयानमा अन्तरिक्ष यान एक अपरिचित कक्षमा प्रवेश गरेको र चन्द्रमाको सतहमा दुर्घटनामा परेको बताइएको बीबीसीले उल्लेख गरेको छ। दक्षिणी ध्रुबमा पुग्नका लागि लुना–२५ र भारतको चन्द्रयान–३ बीच प्रतिस्पर्धा थियो।
पछिल्लो ५० वर्षमा चन्द्रमाका लागि रुसको यो पहिलो मिसन थियो। यो यानले सोमबार चन्द्र सतहमा ल्याण्ड गर्नुथियो। यसलाई चन्द्रमाको त्यो क्षेत्रमा अध्ययनका लागि पठाइएको थियो जहाँ वैज्ञानिकले पानी र अन्य कैयौं बहुमूल्य तत्व पाइने अपेक्षा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।