काठमाडौं- प्रतिनिधि सभा भदौ ५ गते (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको दलहरुको बैठकले सहमतिको लागि भोलि अर्को बैठक बस्ने निष्कर्ष निकालेको छ। बैठक सहमति उन्मुख भएको र भोलिको बैठकबाट सहमति निस्किन सक्ने रास्वपाका सभापति रवि लामिछानेले बताए।
सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग र नियमित प्रक्रियाबाटै छानबिन हुन दिनुपर्ने सरकारको अडानका बीच एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेको छ।
आइतबारै सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीले राखेको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई प्रतिनिधि सभा बैठक ५ गते राख्न अनुरोध गरेका थिए। उक्त अनुरोधपछि सभामुख घिमिरेले संसद् बैठक ५ गते दिउँसो ३ बजे बोलाएका हुन्।
बैठकको छलफलबारे सभामुखलाई जानकारी दिन माओवादीका सचेतक हितराज पाण्डे सिंहदरबारबाट बानेश्वर पुगेका थिए। साथै आइतबारको बैठक सकारात्मक भएको पनि उनले सभामुखलाई जानकारी गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।