काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसको मात्रै होइन, गठबन्धन र प्रमुख दलहरुको बैठक पनि लाइभ हुनुपर्ने बताएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको नगरसम्मेलनमा सम्बोधन गर्दै थापाले बैठकमा जानुअघि र बैठकपछि भाषा फरक–फरक हुने गरेकाले त्यस्तो गर्नैपर्ने प्रस्ताव राखे।
‘म त भनिरहेको छु, अब कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्छ। त्यहाँ के कुरा भयो भन्ने कुरा देश र जनताले थाहा पाउनुपर्छ,’ थापाले भने, ‘गठबन्धनको मात्रै होइन, बेलाबेलामा कांग्रेस, एमाले, माओवादी केन्द्र- सरकारमा बसेका मात्रै होइन- प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग पनि बैठक भएको हामी सुन्छौँ।’
उनले बैठक हुनुभन्दा अगाडि भाषा एउटा हुने र बैठकबाट निस्किसकेपछि भाषा अर्को हुने गरेको भन्दै सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताका बीचमा भएको छलफल पनि पारदर्शी बनाउनुपर्ने बताए।
थापाले नेपालका राजनीतिक दलका नेताहरु एक ठाउँमा बसेर कुराकानी गर्दा ‘म तेरो भ्रष्टाचारको फाइल खोल्छु, तेरो र मेरो कुरा मिल्यो भने खोल्दिनँ’ भन्ने गरेको बताए। उनले थपे, ‘एउटाले भन्छ- ‘म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु।’ अर्कोले भन्छ- ‘ठूलो कुरा गर्छस्, गिरीबन्धु टी स्टेटको फाइल खोल्दिऊ?’ अर्कोले भन्छ- ‘गिरीबन्धु टी स्टेटको फाइल खोल्ने हो भने म शिविरको खोलिदिन्छु।’ अर्कोले भन्छ- ‘मिलेर कुनै पनि फाइल नखोलौँ।’ यस्तो पाइन्छ? पाइँदैन।’
उनले गठबन्धनका नेताहरुको बैठक बसेर ललितानिवास प्रकरणमा बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भएको भन्ने आफूले सुनेको भन्दै आपत्ति व्यक्त गरे। ‘के गठबन्धनका नेताहरु बसेर यो बारेमा छलफल गर्न पाउनुहुन्छ? निर्णय गर्न पाउनुहुन्छ?,’ उनले बैठक लाइभ गर्नुको कारण खोल्दै भने।
उनले जुनसुकै काण्डको फाइल खोलिनुपर्ने र अनुसन्धान हुनुपर्ने बताए। उनले निर्दोष पर्न नहुने, तर दोषी आफ्नो वा अरु पार्टीका, प्रधानमन्त्री, ठूलो वा सानो नेता एक जनाले उन्मुक्ति पाउनुहुन्न भन्ने कुराको पोजिसन कांग्रेसको हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।