काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोलेको कुरालाई रेकर्डबाट हटाउन माग गरिएको छ। सभामुख देवराज घिमिरेले बोलाएको पार्टीका प्रमुख सचेतक र सचेतकहरुकोसँगको छलफलमा सत्ता पक्षले उक्त कुरा उठाएको हो।
नक्कली शैक्षिक प्रमाणपत्रको मामिलामा पक्राउ परेर अदालतको आदेशपछि रिहा भएका शर्माले प्रतिनिधि सभाको साउन २९ गतेको बैठकमा विशेष समय लिएर आफ्नो भनाइ राख्दै सरकारको शैलीमाथि ‘कडा शब्द’सहित प्रश्न उठाएका थिए। उनले आफ्नो सम्बोधनका क्रममा ‘यो लोकतान्त्रिक सरकार हो कि आतंककारीको सरकार?’ भन्दै आक्रोश पोखेका थिए। सोही भनाइ रेकर्डबाट हटाउन सत्ता पक्षले माग गरेको हो। विशेषगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त कुरा उठाएका थिए।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने शर्माको बचाउ गरेको छ। उनको भनाइ स्वाभाविक रहेको बताउँदै हटाउन नहुने तर्क एमाले प्रमुख सचेतक पदमकुमार गिरीले राखेका छन्।
संसद् अवरोध खुलाउने विषयमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको छलफल कुर्ने भन्दै बैठक टुंगिएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पार्टीका शीर्ष नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।