न्यूयोर्क– अमेरिकाको हवाई राज्यको माउइ जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन्। ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ।
हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताएका छन्। उनले डढेलो लागेको सबै क्षेत्रमा अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए।
डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको ग्रिनले उल्लेख गरे। उनले ६ बिलियन डलर बराबरको सम्पत्ति ध्वस्त भएको अनुमान गरिएको बताए। उनले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्य ५०० बढी भवनमा क्षति पुगेको बताए।
डढेलोको कारण माउइको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ। त्यहाँ १३ हजार बासिन्दा बस्ने गर्दथे।
डढेलोमा परेर कम्तीमा १ हजार मानिस बेपत्ता भएका बताइएको छ। बेपत्ता भएका व्यक्तिको खोजीका लागि थप उद्धार टोलीहरु खटाइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउइ राज्यका जीवित उद्धार गरिएका परिवारहरुसँग भेट्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।