काठमाडौं- नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो।
सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको प्राधिकरणले बताएको छ। प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको स्मरण गरे। उनले आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताए।
प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेस गरेको जानकारी समेत उनले दिए। उनले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताए।
प्रवन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताए। प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।