बैतडी- बैतडीको सदरमुकामस्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
दिउँसो ४ बजेतिर सिलिन्डरबाट सल्केको आगो तेजावबमा समेत सल्किएको थियो। आगलागीका कारण पूरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए। आगलागीबाट २० लाख बढीको क्षति भएको उनको भनाइ छ।
पसलमा आगो सल्किँदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो ।
पसलमा आगलागी हुँदा पसल जलेर ध्वस्त भएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।