काठमाडौं- नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ। प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाज पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताएको छ।
कर्णालीका विमानस्थलहरूमा पूर्णरुपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी प्राधिकरणले दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरेको बताए। दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ।
विमानस्थलहरूलाई आईएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको जानकारी उनले दिए। जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका साँझ हुँदा पाइलटहरूलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको भनाइ उनको छ।
मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैँभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै कर्णालीमा उडान बन्द गरिएको बताए। भीएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आईएफआर गर्ने सम्भावना नभएको भनाइ उनको थियो।
बिहान पनि उडान नहुने कारणबारे भने उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान समस्या भएको बताए। दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरू मर्न नपरोस् भनेर जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको दाबी उनले गरे।
प्राधिकरणले गत साउन १९ गते दिउँसो साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गरेको थियो। उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छ। अस्पतालले रेफर गरेर पनि हवाइजहाज र हेलिकोप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।