काठमाडौं- गैरआवासीय नेपाली संघ यूकेले वंशजको आधारमा नेपाली नागरिकता पाएका गैरआवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन माग गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनको सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेका हुन्।
‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैरअवाासीय नेपालीहरु वंशज नागरिकका रुपमा विदेशिएका नेपाली भएकाले उनीहरुको नेपाली वंश, परम्परा, भेषभूषा, भाषा-संस्कृति, समाज, नेपाल र नेपालीसँगको नातालाई चुँडाउने कार्य दीर्घकालीन रुपमा नेपाल र नेपालीको हितमा छैन,’ ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साविक व्यवस्थाले नेपालीको साविकमा रहेको नागरिकता खोसेर सधैंका लागि गैरनेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै साविकको व्यवस्था संशोधन गरी नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहनेछैन’ भन्ने व्यवस्था छ।
अध्यक्ष तिमिल्सिनाले ज्ञापनपत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनीतिक दलहरुको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्न गैरआवासीय नेपालीहरुलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।