काठमाडौं- प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ संशोधन गरिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको संयुक्त प्रयासमा सरुवाको मापदण्ड संशोधन गर्दै केही विषयहरु हेरफेरि गरिएको छ।
जसअनुसार अब विशिष्ट व्यक्तिको सुरक्षामा खटिने पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) आफ्नो सेवा अवधिभर जम्मा ५ वर्षसम्म मात्रै बस्न पाउने भएका छन्। यसअघि कुनै मन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा बस्दै खटिएका पीएसओहरु लामो समयसम्म बस्दै आएकोमा अब सेवा अवधिभर जम्माजम्मी ५ वर्षसम्म मात्रै बस्न पाउने व्यवस्था बनाइएको छ।
त्यसैगरी एक पटक पीएसओ खटाइएकोमा त्यस अवधिमा जम्मा ३ वर्षसम्म मात्रै बस्न पाउने र सम्पूर्ण सेवा अवधिभर भने जम्मा ५ वर्षसम्म मात्रै बस्न पाउने गरी सरुवाको मापदण्ड बनाइएको छ।
त्यसैगरी ४० वर्ष उमेर कटेका सुरक्षाकर्मीहरुलाई पीएसओको रुपमा नखटाउने पनि मापदण्डमा उल्लेख गरिएको छ। बढ्दो उमेरका व्यक्तिहरुलाई पीएसओमा खटाउँदा सुरक्षा चुस्ततामा कमी आउन सक्ने, उनीहरुको शारीरिक क्षमताले पनि साथ नदिने भएकाले ४० वर्षसम्म कम उमेरका सुरक्षाकर्मीलाई मात्रै पीएसओको रुपमा खटाइने मापदण्डमा उल्लेख छ।
पीएसओमा खटिने व्यक्ति शारीरिक र मानसिक रुपमा पनि स्वस्थ हुनुपर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।