काठमाडौं- नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ।
‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तर्क्रियामा कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ र वाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए।
कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए। औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरी कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए।
‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ,’ बुधबार राति अबेर राजधानीमा सम्पन्न कार्यक्रममा पुनले भने, ‘श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिला भइसकेको छ।’
पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।
उनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे जे पनि हुन्छ भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए। आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको स्मरण पनि पुनले गरे।
आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र वाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे। तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेका तीन वटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको उनको दाबी थियो।
हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को मार्नुपर्ने उनको जोड थियो। यस्तै आफूले अर्थमन्त्री भएका बेला डुब्न लागेको बायु सेवा निगमलाई दुई वटा न्यारोबडी जहाज किनेर जोगाएको चर्चा उनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।