काठमाडौं– सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका जिल्ला जोड्ने प्रमुख सडक, भीमदत्त राजमार्ग आज (बिहीबार) ६ घण्टा बन्द हुने भएको छ।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा सडक मर्मतका लागि राजमार्ग ६ घण्टा बन्द गरिन लागिएको हो। सडक डिभिजन कार्यालय कञ्चनपुरले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ।
बुढीतोला क्षेत्रमा साउन २२ गते पहिरो जाँदा ५०० मिटर सडक भास्सिएको थियो। सडक भास्सिएको ठाउँमा बैकल्पिक मार्ग बनाएर झन्डै १ सातापछि सवारी आवागमन सञ्चालनमा ल्याइएको थियो।
तर वैकल्पिक मार्गमा पनि लेदो र माटो बग्ने क्रम नरोकिएपछि पुन: मर्मत गर्न थालिएको हो। लेदो तथा माटो बगिरहेको ठाउँमा जाली राखेर मर्मत गरिने र निरन्तर बगिरहेको पानीलाई पाइपलाइन तथा नाली बनाएर निकास गरिने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।